मेरो बारेमा

पेसागत, सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय लिसंखु पाखर सिन्धुपाल्चोकमा जन्मिएका दिपक उप्रेतीले आफ्नो प्रारम्भिक शिक्षा दार्जिलिङ र आफ्नो जन्मस्थानबाट पूरा गरेका हुन् । पेसा र पढाइलाई सँगसँगै अगाडी बढाएका उप्रेतीले भारतको अरुणाचल विश्वविद्यालयबाट Supply Chain Management मा MBA उत्तीर्ण गरेका छन्।
सन् २००७ मा कार्यालय सहायकको पदमा रोजगारीको लागि कतार गएका उप्रेतीले छोटो समयमा नै आफ्नो कार्यकुशलतामार्फत ऊर्जा, पेट्रोकेमिकल, पेट्रोलियम तेल र ग्यासको क्षेत्रमा व्यवस्थापकीय तहमा रहेर गुणस्तर सुनिश्चितता तथा नियन्त्रण, खरिद तथा आपूर्ति, स्थिर सम्पत्ति व्यवस्थापन, मानव संसाधन, परियोजना प्रबन्धन, प्रशासनिक व्यवस्थापनको नेतृत्व गरिसकेका छन्।
Gulf Cooperation Council (GCC) अन्तर्गतका देशहरूलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आउनु भएका उप्रेती ISO 9001 का आन्तरिक अडिटर समेत हुन्।
सामाजिक संस्थासँगको आबद्धता
विश्वका विभिन्न देशमा रहेका अध्ययन र अनुसन्धानको क्षेत्रमा काम गरिरहेका नेपाली वैज्ञानिकहरू, अनुसन्धानकर्ताहरू र व्यवस्थापकहरूको संयुक्त प्रयासमा स्थापित Nexus Institute of Research and Innovation (NIRI) सन् २०२१ को जनवरी १ बाट सञ्चालनमा आएको गैह्र नाफामूलक एक अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेको संस्था हो। उप्रेती संस्थाका संस्थापक सदस्य हुनुको साथै वित्त र प्रशासन निर्देशक समेत हुन्।
निरीका प्रमुख उद्देश्यहरू:
(१) मुख्य रूपमा नेपालका लागि सान्दर्भिक आधारभूत र अत्याधुनिक अनुसन्धान गर्ने,
(२) नेपालमा अनुसन्धानलाई बलियो बनाउन NIRI सदस्यहरूका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्यात्मक अनुसन्धानलाई बढवा दिने,
(३) शैक्षिक र सीप हस्तान्तरण कार्यक्रमहरू, तालिम, कार्यशाला, सेमिनार र विभिन्न पहुँच (outreach) का गतिविधिहरूमार्फत क्षमता निर्माणमा सहजीकरण गर्ने,
(४) विद्यमान नीतिहरूको समीक्षा गर्न र/वा नयाँ नीतिहरूको मस्यौदा तयार गर्न सरकारी र गैह्र-सरकारी संस्थाहरूलाई सहयोग गरेर प्रमाण-आधारित नीति निर्माणमा योगदान गर्ने र
(५) अनुसन्धानलाई उत्पादनमा रूपान्तरण गर्न अनुसन्धान र आविष्कारहरूमार्फत दिगो स्रोतहरू प्रयोग गरी समाजको हितको लागि सेवाहरू प्रदान गर्ने रहेका छन् ।
International Scout Volunteer Group (ISVG) सँग सम्बद्ध भई नेपालमा
(१) नेपालको कला संस्कृति, र परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने,
(२) नेपाली समाजमा महिला, विद्यार्थी तथा युवायुवतीहरूको क्षमता अभिवृद्धि गर्ने,
(३) उमेर समूह अनुसारका जीवन उपयोगी शिक्षा प्रदान गर्ने र
(४) विभिन्न सीपमूलक तालिममार्फत नागरिकहरूको जीवन कौशल विकास गर्ने उद्देश्यले सन् २०२२ मेमा स्थापित ISVG Nepal का उप्रेती संस्थापक सदस्य तथा संचालन समितिका महासचिव हुन्। ISVG मा विश्वका ७१ भन्दा धेरै देशहरूको सम्बद्धता रहेको छ।
पछिल्लो समय उच्च शिक्षा, रोजगारी र व्यवसायको लागि आफ्नो जन्म स्थान छोडेर अन्यत्र जाने क्रम तीव्र भइरहँदा युवाहरू आफ्नो स्थानीय तहको सामाजिक र भौतिक विकासमा जोडिन सकिरहेका छैनन्। जन्मथलो प्रतिको सामाजिक उत्तरदायित्व बोधको साथ जिल्लामा शिक्षा, स्वास्थ्य, जनचेतना, स्वावलम्बन जस्ता काममा टेवा पुर्याउन विश्वभरि छरिएर रहेका थाक-थलो सिन्धुपाल्चोक रहेका नेपालीहरूलाई जोड्ने मञ्चको रूपमा सन् २०२३ मा स्थापित सिन्धुपाल्चोक ग्लोबल सोसाइटीका केन्द्रीय प्रबक्ता तथा योजना तर्जुमा समितिका सदस्यको रूपमा उप्रेती आबद्ध छन्।
“परिवर्तन आफ्नै जीवनकालमा” भन्ने मूल नारा सहित पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता लाई मूल सिद्धान्त मान्दै कल्याणकारी राज्य व्यवस्था निर्माण गर्न साझा पार्टी वैकल्पिक रूपमा उदाएपछि राजनीतिक प्रति मोह बढाएका उप्रेतीले सन् २०१९ फेब्रुअरी १९ गते दलको औपचारिक सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए।
छोटो समयमा नै कुवेतमा साझा सद्भाव समूह निर्माण गर्न अभियानकर्ता, मध्यपूर्वका देशहरूको सद्भाव समूहको संयोजक, केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिवालय प्रमुखसम्मको भूमिका निर्वाह गरिसकेका छन्।
उप्रेतीले स्थानीय निर्वाचन २०७९ मा राष्ट्रिय दल बाहेक अन्य दललाई पार्टीको निर्वाचन चिह्न नदिने व्यवस्थाको विरुद्ध साझा पार्टीको नेतृत्व गर्दै ३८ दलको संयुक्त सङ्घर्षको संयोजन गरेका थिए।
साझा पार्टीका रवीन्द्र मिश्र पक्षले राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने निर्णय गरेपश्चात् उप्रेती राप्रपाका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका छन्।