काठमाडौँ, २०८३ वैशाख ३ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले पार्टीको केन्द्रीय सदस्य पद लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।
उप्रेतीले पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन समक्ष राजीनामा पेश गर्दै पार्टीको विधान, २०४८ (२०७८ मा संशोधित) को धारा ४९ बमोजिम पद त्याग गरेको जनाएका छन्। उनले पार्टीभित्र रहेका अन्य सबै तहगत जिम्मेवारी तथा सक्रिय सदस्यताबाट समेत अलग हुने निर्णय गरेका छन्।
उनले हालै सम्पन्न केन्द्रीय संसद् निर्वाचनमा पार्टीले अपेक्षाभन्दा कमजोर नतिजा बेहोरेको सन्दर्भमा आफ्नो हिस्साको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको उल्लेख गरेका छन्। साथै, आफूले बुझाउनुपर्ने लेवी रकम २०८२ चैतसम्म पूर्ण रूपमा बुझाइसकेको पनि जानकारी दिएका छन्।
उप्रेतीले निर्वाचन परिणामले पार्टीको संगठनात्मक संरचना, कार्यशैली, निर्णय प्रक्रिया तथा सञ्चालन पद्धतिमा गहिरो आत्म मूल्याङ्कनको आवश्यकता देखाएको बताएका छन्। उनका अनुसार, वडा तहदेखि केन्द्रीय तहसम्म संगठनात्मक सुदृढीकरणमा कमजोरी, सामूहिक निर्णय प्रक्रियामा प्रभावकारिताको अभाव, तथा पार्टीलाई एकीकृत र अनुशासित रूपमा अगाडि बढाउन नसकिएको अवस्था उजागर भएको छ।
उनले समान वैचारिक आधार भएका विभिन्न समूह, अभियान तथा व्यक्तिहरूलाई एकै प्लेटफर्ममा समेट्न नसकिएको अवस्थाले पनि पार्टीभित्र समन्वय, नेतृत्व र रणनीतिक विस्तारमा सुधार आवश्यक रहेको औँल्याएका छन्। साथै जनसरोकारका विषयहरू—शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक अवसर र सुशासन—मा स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।
पार्टीभित्र देखिने आन्तरिक खिचातानी, गुटबन्दी र व्यक्तिगत स्वार्थ अन्त्य गर्दै एकीकृत संगठन निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ छ। साथै २०७८ मा सम्पन्न पछिल्लो महाधिवेशनपछि नयाँ महाधिवेशनमार्फत संगठनात्मक पुनर्संरचना अपरिहार्य भएको पनि उनले उल्लेख गरेका छन्।
उप्रेतीले अबका दिनहरूमा आफू एक सचेत नागरिकको रूपमा समाज र राष्ट्रप्रति जिम्मेवारी निर्वाह गर्ने बताएका छन्।
राजनीतिक पृष्ठभूमि
उप्रेती यसअघि विवेकशील साझा पार्टीमा सक्रिय रहँदै सद्भाव समूह, कुवेतका संयोजक तथा गल्फ संयोजकको जिम्मेवारी सम्हालेका थिए। उनले पार्टीको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय प्रमुखको रूपमा समेत काम गरेका थिए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय राजनीतिक दल बाहेक अन्य राजनीतिक दलले आफ्नो दलको चुनाव चिह्न प्रयोग गर्न नपाउने व्यवस्थाको विरुद्ध ३८ दलको गठबन्धन गठन गरी संयोजन गर्दै सो निर्णय संशोधन गराउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
पछिल्लो चरणमा विवेकशील साझा पार्टीको एकीकरणपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भई केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए।

