कविता
तिम्रो क्रान्ति त उहि दिन पूरा भएछ
जुन दिन तिमीले संसदमा पाइला टेकेका थियौ
तिम्रो क्रान्ति त उहि दिन सफल भएछ
जुन दिन तिमी झुपडी छोडेर महलमा बसाई सरेका थियौ
तर मेरो क्रान्ति अझै अधुरो छ
म संघर्षरत छु मेरो क्रान्ति पूरा गर्न
तिम्रा क्रान्तिका परिभाषा त
केवल महलसम्म बसाई सर्नु रहेछ
आफ्नो हात राष्ट्रको ढुकुटीसम्म लम्काउनु रहेछ
अनि आफु र अफ्नाहरुलाई सम्वृद्ध तुल्याउनु रहेछ
तर मेरो क्रान्तिको परिभाषा अलि फरक छ
मेरो क्रान्तिले तिम्रा क्रान्तिले झैँ रक्तपात निम्त्याउने छैन
मेरो क्रान्ति शिष्ट, सभ्य अनि सुसंकृत हुनेछ
जुन दिन मलाई पिडाँ हुँदा तिमीलाई पनि दुख्नेछ
जुन दिन म भोको हुँदा तिमी सामल लिएर मेरो दैलोसम्म आउनेछौ
जुन दिन तिम्रा बालबच्चा मेरै छोराछोरीसँगै एउटै बेन्चमा बसेर पढ्नेछन्
जुन दिन तिमी मसँगै सरकारी अड्डामा लाम्बद्द भएर उभिनेछौ
जुन दिन तिमी बुढ्यौलीको उपचार गर्न सरकारी अस्पतालमा धाउन थाल्नेछौ
जुन दिन मेरा बुढा बा-आमाले घर नजिकै टहलिन बगैचा पाउनेछन्
जुन दिन मेरो धारामा अविरल पानी आउने छ
जुन दिन अन्धकार रातमा पनि मेरा सडक पेटी झलमल हुनेछ
जुन दिन मेरा सडकमा धुलो उड्न छोड्ने छ
जुन दिन फोहोरको दुर्गन्धलाई पुष्प वृक्षहरुको सुगन्धले प्रतिस्थापन गर्नेछ
जुन दिन म दूरदराजसम्म पुगेर श्रम गरेर साँझ आफ्नै घर फर्कन सक्नेछु
जुन दिन मेरो खेतबारीहरु सिँचिने छन्,
जुन दिन मेरा उत्पादनले बजार पाउनेछन्
जुन दिन म आरामले बसेर बसको यात्रा गर्न पाउनेछु
जुन दिन मेरा छोरीचेलिहरु निर्धक्कसँग घुमफिर गर्न सक्नेछन्
जुन दिन मेरो भेष, भाषा, कला अनि संस्कृतिलाई विश्वले चिन्नेछ
जुन दिन मेरो हिमालका जडीबुट्टी यहीं प्रसोधन हुनेछन्
जुन दिन मेरो पहाडहरु सुविधायुक्त बस्ती अनि कर्पोरेट कार्यालयमा बदलिनेछन्
जुन दिन मेरो तराई खाद्यान्न भण्डारमा परिणत हुनेछ
जुन दिन म आफैले बुनेका कपडा लगाउन पाउनेछु
जुन दिन मेरो देशले उत्पादन गरेको बिजुलीले दक्षिण यसिया झलमल हुनेछ
जुन दिन मेरा सडकमा बिजुलीले चल्ने साधन मात्र गुडेका देखिनेछन्
जुन दिन म आयात होइन निर्यात मात्र गर्न सक्षम हुनेछु
जुन दिन म हिमालको नेप्टे दाई अनि तराईको काले भाईसँगै बसेर
एउटै थालीमा हाँसीखुसी मीठोमसिनो खान पाउनेछु
तबमात्र बल्ल मेरो क्रान्ति पुरा हुनेछ।