कविता-
नेता देख्यो भने, उ चोर आयो भन्छन्,
मिले थप्पड हान्छन्, नत्र कालो झण्डा देखाउँछन्,
जनताको डर छ, तिमी निर्धक्क हिँड्नै सक्दैनौ,
जहाँ तिमी छौ, त्यहाँ तिम्रो सम्मान होस्,
तब पो तिमी नेता।
तिमी कतै जाँदै गर्दा, तिम्रो इज्जत ढाक्न,
सके फकाएर, नसके थर्काएर,
कार्यकर्ताले जनता बोटल्नु पर्छ,
जहाँ तिमी जान्छौ, त्यहाँ तिम्रो प्रतीक्षा होस्,
तब पो तिमी नेता।
सभाबाट ननिस्किँदै, तिम्रो आलोचना हुन्छ,
तिमीलाई विकृतिका नाइके करार गरिन्छ,
तिमीसँग खण्डन गर्ने आधार-प्रमाण छैन,
जहाँबाट तिमी फर्कन्छौ, त्यहाँ तिम्रो स्मृति रहिरहोस्,
तब पो तिमी नेता।
तिम्रो कर्ममा सकैले औँला नउठाउन्,
तिम्रो बचन कसैले काट्न नसकुन्,
तिम्रो इमानदारिता कसैले शङ्का नगरुन्,
तिम्रो निष्ठाको सबै अनुयायी बनुन्,
तब पो तिमी नेता।