तिमी र म

कविता

तिमीलाई थोरै ज्ञान छ भने
आफ्नै घरको ध्यान छ भने।
तिमी गर्ने कोसिस गर
कठिन परे म सघाउँछु।।

तिमी कर्मयोगी बन्छौ भने
आफ्नै खेतबारीमा रम्छौ भने।
तिम्रै खेतको कान्लो सम्म
बिजन बोकी म आउने छु।।

तिम्रो बाली फल्यो भने
भकारी नि भर्‍यो भने।
बजार सम्म लैजानलाई
भरिया लिई म आउने छु।।

तिमीले मलाई साथ देऊ भने
लड्नै लाग्दा हात देऊ भने।
तिम्रै घरको दैलोसम्म
पक्की बाटो म ल्याउने छु।।

तिमीले हातमा हात देऊ भने
मेरो काममा साथ देऊ भने।
दिनको काम छिन मै हुने
पद्धति म बसाउने छु।।

तिमीले मलाई चिन्यौ भने
विश्वास साँच्चै गर्‍यौ भने।
झाँगिएका ऐजेरुलाई
छिमलेर म फाल्नेछु।।

तिमी मलाई मान्छौ भने
एक पल्टलाई छान्छौ भने।
आफ्नै घरका छिद्रहरू
खोजी खोजी म टाल्ने छु।।

तिमी मलाई सुन्छौ भने
एक पल्टलाई चुन्छौ भने।
पहिलो कदम म चाल्ने छु
देश द्रोहीलाई पहिचान्ने छु।।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top