नेपालमा संघीय निर्वाचन नजिकिँदै गर्दा नागरिकहरू केवल सरकार परिवर्तन होइन, आफ्नो दैनिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने स्पष्ट दृष्टिकोण खोजिरहेका छन्। चरम दण्डहीनता, मौलाउँदो नेपो बेबी संस्कृति, रोजगारीको अभाव, शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायात सेवाको गुणस्तर, सार्वजनिक सेवामा अपारदर्शिता, र राष्ट्रिय पहिचान कमजोर बन्दै गएको अनुभूति आज आम नागरिकको साझा चिन्ता बनेको छ। यही यथार्थलाई आत्मसात् गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र निर्माणलाई भावनात्मक नारामा सीमित नराखी, राष्ट्रिय स्रोत–साधन, सामाजिक यथार्थ र नागरिकको दैनिकीसँग जोडिएको राजनीतिक दृष्टिकोण अघि सारेको छ। राप्रपाको बाटो कुनै एक वर्ग वा समूहका लागि होइन, साझा राष्ट्रिय हित र दीर्घकालीन स्थायित्वका लागि केन्द्रित छ।
राप्रपाको गन्तव्य नेपाललाई आफ्नो मौलिक पहिचानसहित आधुनिक, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्नु हो। पृथ्वीनारायण शाहको दिव्योपदेश (पृथ्वी पथ) लाई मार्ग निर्देशक सिद्धान्त मानेर राष्ट्रिय स्वाधीनता, सांस्कृतिक निरन्तरता र सामाजिक अनुशासनलाई राज्य सञ्चालनको आधार बनाउनु नै यसको दीर्घकालीन गन्तव्य हो। संवैधानिक राजसंस्थाको पुनः स्थापनासहित सनातन हिन्दु अधिराज्यको अवधारणालाई राष्ट्रिय एकताको सूत्रका रूपमा ग्रहण गर्दै, नेपाललाई आफ्नो ऐतिहासिक, सांस्कृतिक र धार्मिक पहिचानसहित आधुनिक राष्ट्रका रूपमा विश्व समुदायमा उभ्याउने सोच राप्रपाको गन्तव्यमा निहित छ। यस गन्तव्यले विगतको गौरवलाई मात्र होइन, आगामी पुस्ताको भविष्यलाई पनि समेट्छ।
यस गन्तव्यमा पुग्न राप्रपाको लक्ष्य शासन प्रणालीलाई स्थायित्व, सन्तुलन र उत्तरदायित्वमा आधारित बनाउनु हो। संविधान, ऐन र कानुनको पूर्ण पालना गर्दै सुशासन कायम गर्नु, संघीय संरचनाको सट्टा केन्द्र र स्थानीय तहमा आधारित दुई तहको प्रभावकारी शासन प्रणाली स्थापना गर्नु, र राष्ट्रिय स्रोत–साधनको न्यायोचित उपयोगमार्फत आर्थिक आत्मनिर्भरता बढाउनु यसको प्रमुख लक्ष्य हो। परराष्ट्र नीतिमा सबै राष्ट्रसँग समानता र सन्तुलन कायम गर्दै राष्ट्रिय हितलाई सर्वोपरि राख्नु, तथा राज्य संयन्त्रलाई राजनीतिक स्वार्थभन्दा माथि राखेर जनउत्तरदायी बनाउनु राप्रपाको लक्ष्यको केन्द्रबिन्दु हो।
यी लक्ष्यहरू कार्यान्वयन गर्न राप्रपाले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिने कार्यान्वयनयोग्य उद्देश्यहरू अघि सारेको छ। आगामी तीनदेखि पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरीय पहुँच विस्तार गर्दै, स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवालाई बिदेसिनु नपर्ने वातावरणको सुरुवात गर्नु यसको प्राथमिक उद्देश्य हो। केन्द्रीकृत डिजिटल रूपान्तरण (digital transformation) मार्फत सार्वजनिक सेवाहरूलाई पूर्ण रूपमा पारदर्शी, छरितो र नागरिक–मैत्री बनाउँदै भ्रष्टाचारका संरचनागत कारणहरू अन्त्य गर्ने लक्ष्य पार्टीले लिएको छ। यसैसँगै, विदेशमा रहेका लाखौँ नेपालीको सीप, पुँजी र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्न आकर्षक वातावरण सिर्जना गर्दै स्वदेश फर्कन प्रोत्साहित गर्नु पनि राप्रपाको महत्त्वपूर्ण उद्देश्य हो। यी उद्देश्यहरू राष्ट्रिय स्रोत, उपलब्ध जनशक्ति र वर्तमान प्रशासनिक क्षमताको यथार्थ मूल्याङ्कनमा आधारित छन् र स्पष्ट समय सीमा तथा परिणामका आधारमा मूल्याङ्कन गर्न सकिने खालका छन्।
अतः राप्रपाको राजनीति टकराब, विभाजन वा हिंसाको बाटो होइन, नागरिकको मन जितेर परिवर्तन लागू गर्ने हिंसात्मक मार्ग हो। पार्टीले यही विद्यमान संवैधानिक व्यवस्थाभित्र रहेर, सबै पक्षलाई समेट्ने नवीन समझदारी विकास गर्दै राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको छ। गन्तव्य स्पष्ट, लक्ष्य व्यवहारिक र उद्देश्य कार्यान्वयनयोग्य भएकै कारण राप्रपा केवल आलोचक होइन, जिम्मेवार विकल्पका रूपमा अघि बढ्न चाहन्छ। निर्वाचनको यो घडीमा राप्रपाले प्रस्तुत गरेको बाटो नेपाललाई आफ्नै मौलिक धरातलमा उभ्याउँदै स्थायित्व, समृद्धि र सम्मानतर्फ लैजाने राष्ट्रिय सङ्कल्प हो।
— दिपक उप्रेती, केन्द्रीय सदस्य, राप्रपा


