रुख, सूर्य, हँसिया र हलो

कविता
 
एक समय हरियो थियो,
छायाँ दिन्थ्यो,
आश्रय बन्यो।
 
माटो उब्जाउ थियो,
बीउ रोप्दा विश्वास पलाउँथ्यो,
भविष्य देखिन्थ्यो।
 
तर समयसँगै
हरियाली जोगाउने साटो
घामकै भर परियो।
 
माथिबाट तेजिलो सूर्य चम्किरह्यो—
आफ्नै तेजमा गर्व गर्दै,
“म नै सबैलाई चलाउने शक्ति हुँ”
भन्ने भ्रममा।
 
तर त्यो तेज
सबैका लागि समान रहेन—
कसैलाई पोल्यो,
कसैलाई छायाँ नै दिएन।
 
एक दिन
त्यही सूर्य ग्रहणले छेकियो,
तेज घट्यो,
र भरोसाको ताप पनि।
 
त्यतिखेर
रुख अझै ढलेको थिएन,
तर
सुक्दै गएको स्पष्ट थियो—
पानीको अभावले होइन,
भित्रै लागेको धमिराले।
 
हावाहुरी आयो,
रुखको परीक्षण भयो।
 
हँसिया चल्यो—
हाँगा छिमल्नसम्म ठिक थियो,
तर
क्षमताभन्दा ठुलो काट्न खोज्दा
हँसिया नै भाँचियो।
 
कटाइ गलत भयो,
उपचार होइन,
प्रदर्शन बन्यो।
 
यत्तिकैमा
हलो चलायमान भयो—
जमिन जोत्न खोज्दै,
पुरानो खेत उल्ट्याउँदै।
 
तर समस्या माटोमा थिएन,
माटो त उब्जाउ नै थियो।
 
समस्या थियो
गलत तरिका,
गलत दिशा,
र सही समय नचिन्ने बानीमा।
 
बीउ राम्रो हुँदाहुँदै पनि
फल आएन।
 
अन्त्यमा
रुख ढल्यो,
तर कसैले सोधेन—
किन सुक्दै थियो?
घाम छेकिँदा पनि
कसैले आत्म मन्थन गरेन।
 
हँसिया भाँचिँदा
दोष अरूमाथि गयो।
 
हलो अड्किँदा
माटोलाई दोष लगाइयो।
 
तर सत्य के हो भने—
समस्या प्रतीकमा होइन,
प्रयोग गर्ने सोचमा हो।
 
तेज मात्र काफी हुँदैन,
कटाइ मात्र समाधान होइन,
जोत्दै मात्र परिवर्तन हुँदैन।
 
छायाँ दिन
रुख फेरि हरियो हुन
पहिले
जरा जोगाउनुपर्छ।
Scroll to Top